| |

संयुक्त प्रेस-विज्ञप्ति – अनेरास्ववियू ( क्रान्तिकारी ) , र योङ कम्युनिस्ट लिग ( YCL ) नेपाल 

अनेरास्ववियू ( क्रान्तिकारी ) , र योङ कम्युनिस्ट लिग ( YCL ) नेपाल को केन्द्रीय समितिले संयुक्त रुपमा आज जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस प्रकार छ।

संयुक्त प्रेस-विज्ञप्ति

जेन–जी विद्रोह भएको एक महिना बितिसक्दा पनि देशमा विधिको शासन, शान्ति–सुरक्षा र राजनीतिक स्थायित्व कायम हुन नसकेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय सार्वभौमिकता, सम्प्रभुता, लोकतन्त्र, सुशासन र समृद्धिको यात्रामा सिर्जित अवरोधहरूले मुलुक पुनः अनिश्चितताको दिशातर्फ धकेलिएको आभाष हुन्छ । संविधानले नागरिकलाई प्रदान गरेका मौलिक अधिकारहरूको व्यवहारिक कार्यान्वयन नहुँदा शान्ति–सुरक्षाको अवस्था दिनानुदिन जटिल बन्दै गएको छ ।

जेन–जी विद्रोहको मूल मर्मअनुसार सुशासन र विधिको शासन सुदृढ हुनुपर्नेमा उल्टै शासन व्यवस्था कमजोर हुँदै गएको छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारी सुस्त छ, सरकार राजनीतिक दलहरूप्रति निषेधात्मक व्यवहार गरिरहेको छ, प्रतिगामी शक्ति र प्रवृत्तिहरूले लोकतन्त्रका विरूद्ध विषवमन गरिरहेका छन् । यस्तो प्रवृत्तिले घोषित मितिमा हुने भनिएको निर्वाचनप्रति नै आशंका उत्पन्न गरेको छ ।

यस बीचमा हाम्रो पार्टी  नेकपा (माओवादी केन्द्र) र यसको नेतृत्वविरूद्ध नियोजित रूपमा भ्रामक, झुट्टा र तथ्यहीन प्रचार–प्रसार भइरहेको छ, जसलाई केही सञ्चारमाध्यमहरूले प्राथमिकता दिइरहेका छन् । विकसित घटनाक्रमका सन्दर्भमा हाम्रो धारणा स्पष्ट पार्न र वर्तमान राजनीतिक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन यो संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छौँ ।

१. निर्धारित मितिमा निर्वाचन सुनिश्चित गरियोस्:

हामी निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुपर्नेमा पूर्णतः एकमत छौँ । त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँछौँ । चुनाव सुनिश्चित गर्न देशभक्त, वामपन्थी र जनपक्षीय सबै शक्तिहरू एकताबद्ध हुनुपर्ने आजको आवश्यकता हो । हामी सम्पूर्ण राजनीतिक दलहरूलाई जेन–जी विद्रोहको भावनालाई आत्मसात गर्दै निर्वाचनको पक्षमा उभिन अपील गर्दछौँ ।

२. राजनीतिक दलहरूप्रति पूर्वाग्रहपूर्ण व्यवहार अन्त्य गरियोस्:

सरकारले राजनीतिक दलहरू र तिनका नेताहरूलाई लक्षित गरी गरिरहेको पूर्वाग्रहपूर्ण तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल अन्त्य गर्नुपर्छ । नेताहरूलाई पक्राउ गर्ने, सास्ती दिने वा सुरक्षा नदिने जस्ता क्रियाकलापले निर्वाचनको वातावरण बिग्रिँदै गएको छ । यस्तो कार्य रोक्न र विश्वासिलो राजनीतिक वातावरण निर्माण गर्न हामी सरकारसँग आग्रह गर्दछौँ ।

३. आम नागरिकको सुरक्षा सुनिश्चित होस्:

नागरिकको जीवन–सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो जिम्मेवारी हो । हालैका घटनाक्रममा जेलबाट निस्किएका कैदीबन्दी, हराइरहेका हतियार र त्यसबाट उत्पन्न त्रासले सुरक्षा चुनौती थपेको छ । राजनीतिक दलका नेता–कार्यकर्ता, निर्वाचनमा संलग्न कर्मचारी तथा आम मतदाताको सुरक्षा सुनिश्चित हुने गरी तयारी थाल्न र विश्वस्त हुने वातावरणका निम्ति तत्काल ठोस कदम चाल्न हामी सरकारलाई आग्रह गर्दछौँ ।

४. जेन–जी विद्रोहमा भएको दमन र हत्याको निष्पक्ष छानबिन होस्:

भदौ २३ गतेको जेन–जी विद्रोहका क्रममा नागरिकमाथि भएको दमन र हत्याको निष्पक्ष छानबिन गर्न सरकार असफल भएको छ । भदौ २४ गते भएका विध्वंसात्मक क्रियाकलापमा संलग्न व्यक्तिहरू अझै कारबाहीको दायरामा आएका छैनन् । ती घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । साथै जेन–जी युवाहरूले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सुशासन र पारदर्शिताको नीतिसहित भ्रष्टाचारविरूद्ध कठोर कारवाही लगायतका मागहरू समानता, न्याय, पारदर्शिता र सामाजिक रूपान्तरणका लागि केन्द्रित छन् । तर केही पश्चगामी र यथास्थितिवादी शक्तिहरूले आन्दोलनको वास्तविक उद्देश्यमा हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन् । यी तत्वहरूले युवा आन्दोलनको चेतलाई कमजोर पार्ने, संघर्षको मार्गलाई अराजक बनाई लुटपाट गर्ने, आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, ऐतिहासिक अभिलेखहरू मेट्ने, वैदेशिक हस्तक्षेपमार्फत मुलुकको राष्ट्रियतामा खलल पुर्‍याउने प्रयास गरेका छन् । हामी जुनसुकै प्रकारका बाह्य हस्तक्षेप र षड्यन्त्रलाई अस्वीकार गर्दर्छौं । देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाउने पूर्ण प्रतिवद्धतासहित युवा चेतलाई केवल जागरण मात्र होइन, प्रणालीमा रूपान्तरण, संरचनागत सुधार र सामाजिक न्यायको लागि सिद्धान्त, संगठन र योजनामा संकेन्द्रण गर्न सबैमा अपील गर्दछौँ ।

५. सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूलाई कारबाही गरियोस्:

विद्रोहका क्रममा सुरक्षाकर्मीमाथि भएका आक्रमण, हत्या र हतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई अझै कारबाहीको दायरामा नल्याउनु गम्भीर विषय हो । यसले सुरक्षाकर्मीको मनोबल कमजोर बनाएको छ । दोषीलाई तुरून्त कारबाही गरी सुरक्षाकर्मीलाई आवश्यक प्राविधिक तथा सुरक्षात्मक सामग्री उपलब्ध गराउन हामी सरकारसँग जोडदार माग गर्दछौँ ।

६. माओवादी नेतृत्वमाथि पूर्वाग्रहपूर्ण व्यवहार बन्द गरियोस्:

नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड प्रचण्डले कार्यविधि विपरित सुरक्षा लिएको भन्दै कुप्रचार गरिएको छ । विगतमा उहाँलाई पूर्व प्रधानमन्त्रीका हैसियतले मात्र नभएर विस्तृत शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले सुरक्षा संवेदनशीलताका आधारमा उक्त सुरक्षा प्रदान गरिएको थियो । आज पार्टी नेतृत्वको सुरक्षा हामी आफैले गर्नुपर्ने अवस्था सिर्जना हुनु सरकारका निम्ति लज्जाको विषय हो । निर्वाचनको तयारीमा जुटेका माओवादी नेताहरूमाथि सास्ती दिने, मानमर्दन गर्ने कार्य सरकारले तत्काल रोक्नुपर्छ । यस्ता कार्य निरन्तर भएमा हामी प्रतिवाद– प्रतिरोध  गर्न बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौँ । साथै पार्टी नेतृत्व र मुख्यालयको सुरक्षाका निम्ति चक्रीय प्रणालीका आधारमा स्वयंसेवी रूपमा खटिएका युवाहरूमाथि ‘कसले दिन्छ तलब ?’ जस्ता समाचार बनाएर मिडिया ट्रायल नगर्नसमेत सबैमा अनुरोध गर्दछौँ ।

७. भ्रामक प्रचार र चरित्रहत्या रोकियोस् :

माओवादी केन्द्र र नेतृत्वविरूद्ध नियोजित भ्रामक प्रचार र चरित्रहत्या गर्ने गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पुर्व प्रहरी देवेन्द्र सुवेदी, पुर्व सेना माधव सुन्दर खड्का, अधिवक्ता बालकृष्ण न्यौपाने, पुर्व लडाकु भनिने लहानु चौधरी लगायतले बोलेका र गरेको भ्रामक प्रचार र अप्रमाणित विषयलाई प्रचार–प्रसार गर्ने समाजिक संजाल प्रयोगकर्ता तथा मिडियालाई कानुनि कारवाहीको दायरामा ल्याउन गृहप्रशासनलाई अपिल गर्दर्छौ । कानुनि प्रकृयामा उदाशिनता देखाए आफै प्रतिवाद र प्रतिरोध गर्न वाध्य हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने बेहोरा अवगत गराउँदर्छौ । 

८. माओवादी पार्टी र नेतृत्व अरूजस्तै होइन:

आफ्नो राजनीतिक नीति, नेतृत्व र छविमाथि प्रश्न उठेपछि प्रतिगामी र यथास्थितिवादी शक्तिहरूले माओवादी पार्टी र यसको नेतृत्व पनि ‘पुराना संसदवादी पार्टी र उनीहरूको नेतृत्वजस्तै हो’ भन्ने भाष्य निर्माणका निम्ति सम्पूर्ण तागत लगाइरहेका छन् । तर, यथार्थ त्यस्तो होइन । माओवादी पार्टी र यसको नेतृत्व नै त्यस्तो विचार र शक्ति हो, जसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुत्रापात गर्‍यो, राजनीतिक, आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्‍यो, सरकारको नेतृत्व गर्दा सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सयौँ मानक स्थापित गर्‍यो, दलगत आग्रहबाट माथि उठेर भ्रष्टाचारका विरूद्ध कानुनी कार्वाही अगाडि बढायो । प्रतिपक्षमा रहँदा सरकारको बिचौलियामैत्री नीति र व्यवहारका विरूद्ध उभियो, युवाहरूको आवाज सम्बोधन गर्न संसद र सडकबाट सरकारलाई निरन्तर खबरदारी गरिरह्यो । जेन–जी विद्रोहपछि विद्रोहको मूल मर्म र भावनालाई सम्मान गर्‍यो, विद्रोहको आकांक्षाअनुसार पार्टी शुद्धिकरण र रूपान्तरणको प्रक्रिया आरम्भ गर्‍यो। जेन–जीहरूले माओवादीकै मुद्दाहरू उठाउनुले पनि यो कुरा प्रमाणित हुन्छ । तसर्थ, हामी सबै दल र नेतृत्वलाई ‘एउटै बास्केट’मा नहाली गुण र दोषका आधारमा मुल्याङकन गर्न सबैसँग अपिल गर्दछौँ । साथै, परिवर्तनविरोधी शक्तिहरूका पूर्वाग्रहपूर्ण अफवाहबाट प्रभावित नहुन सम्पूर्ण जनसमुदायमा आग्रह गर्दछौँ ।

९. निर्वाचनले लोकतन्त्रलाई राजमार्गमा फर्काउँछ:

जेन–जी विद्रोहपछि उत्पन्न राजनीतिक रिक्तता, अस्थीरता र लोकतन्त्रमाथि चुनौतीको समाधान निर्धारित मितिमा हुने निर्वाचनबाट मात्र सम्भव छ । संविधान र विधिको शासनलाई सही मार्गमा ल्याउनु, चुनावी वातावरण निर्माण गर्नु सरकारको प्रमुख कर्तव्य हो । हामी देशभक्त, वामपन्थी र जनपक्षीय संघ–संगठनहरूसँग हातेमालो गरी निर्वाचनका लागि अनुकूल वातावरण निर्माणमा अग्रसर रहनेछौँ । साथै, सबै लोकतान्त्रिक, प्रगतिशील, जेन–जी युवाहरू र जनपक्षीय शक्तिहरूलाई सहकार्यका लागि आव्हान गर्दछौँ ।

मितिः २०८२ असोज ३१ गते

     विजय प्रकाश शर्मा सापकोटा

                   ( अध्यक्ष )

अनेरास्ववियू ( क्रान्तिकारी ) , केन्द्रीय समिति ।

     पुष्प ओली

    ( अध्यक्ष )

योङ कम्युनिस्ट लिग ( YCL ) नेपाल , केन्द्रीय समिति ।

 

Most read

  1. क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
  2. आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
  3. सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
  4. सिड्नीमा ‘Live in Sydney’ The Edge Band को  सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
  5. Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *