साहित्यकार एवं रचनाकार नारदप्रसाद आचार्य ‘सुदामा’ द्वारा लिखित लघुकथा – “अदृश्य”
लघुकथा
शीर्षकः अदृश्य
नारदप्रसाद आचार्य ‘सुदामा’ –
“तिमीलाई दुईटा खबर छ ।” एका बिहानै मलाई फोनले झस्कायो ।
धेरै दिनपछि अमरले मलाई सम्झेका थिए ।
उनी बेला–बेला समीरका खुसी ल्याउँथे । समीर एक आदर्शवादी मित्र थिए ।
उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो ।
अमेरिकी जीवन अति व्यस्त ! साथीभाइसँग भेटघाट गर्ने मसँग फुर्सदै हुन्नथ्यो ।
मैले जिज्ञासा राखेँ- -“कस्तो खबर हो मित्र ?”
हालखबर सोधनी गरेपछि उनले धेरै कुरा सुनाए । मनमा एक तमासको चौचौ बढ्यो ।
अन्त्यमा दुई वटा खबर रोज्न लगाए—सुखद र दुखद । समाचार सुन्ने उत्कण्ठाले एक्कासी मेरो मुखबाट ‘दु:खद’ शब्द निस्कियो ।
अमरले मलिन स्वरमा भन्यो- -“आकाशले सहर छोडेछ ।”
जिज्ञासापूर्वक मैले भनेँ- “ला…! हो र ? के भएछ उसलाई ? अनि अर्को सुखद कुरा चैँ के हो यार ?”
थमथमाउँदै ऊ बोल्यो- -“अस्ति पवित्र स्थलमा अश्लील शब्दले पुष्पवृष्टि गर्ने ‘व्यक्तित्व’ थाहा पाइयो नि !
वास्तविकता पत्ता लगाउँदा नररूपी नरपशु पो रहेछन् ।” म अचम्ममा परेँ ।
त्यो कुरा मेरो कानलाई विश्वास भएन । किनभने विषय मेरो सहृदयी मित्रको थियो ।
अनि उनी आदर्शको पात्र पनि । जानी- जानी मैले सोधेँ- -“को रहेछन् , ती भाग्यमानी महोदय ?”
उताबाट उत्तर आयो- -”हावाले भरिएको बेलुन जस्तो उडन्ते नबनी आदर्शवान बन्दा के जान्थ्यो र !”
— हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
लेखक हाल त्रिवेणी साहित्य मञ्च, हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकाको सचिवको जिम्मेवारी सम्हालिरहनु भएको छ। साहित्य, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धताका कारण उहाँ विभिन्न साहित्यिक तथा समाजसेवी सङ्गठनहरूसँग पनि सक्रिय रूपमा आबद्ध रहनु भएको छ। नेपाली भाषा, साहित्य र पहिचानको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आउनु भएका उहाँले नेपाली प्रवासी समुदायमा प्रेरणादायी स्थान स्थापित गर्नुभएको छ। हाल उहाँ केन्द्र न्युज मा सल्लाहकारको रूपमा सक्रिय भूमिका निर्वाह गरिरहनु भएको छ।
Most read
क्यानबेरामा SSDRC काठमाडौँलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी डिनर आयोजना हुँदै
आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
सिड्नीमा एक्लोपन हटाउँदै नेपालीपनको उत्सव: चितवन सिड्नी बोइजको दशैं विशेष कार्यक्रम
सिड्नीमा ‘Live in Sydney’ The Edge Band को सांगीतिक कार्यक्रम नोभेम्बर २२ मा हुने
Nepal Festival Canberra २०२७ फेब्रुअरी १३ मा हुने इभेन्ट पार्टनरमा Aussie Finance and Home Loans
